संघीय संसद भवनको निर्माण सम्पन्न गर्न बजेट बढाउनुपर्ने निष्कर्ष

देश

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले तोकिएको समयसीमाभित्रै सिंहदरवारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

आइतबार निर्माणधीन संघीय संसद भवनको स्थलगत निरिक्षण गर्दै समितिले निर्माणअवधी एक बर्ष थप भएको अवस्थामा तोकिएको समयसिमाभित्रै निर्माण सम्पन्न गर्न सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको हो । समिति सभापति कल्याणी खड्काले निर्माण क्रममा देखिएका समस्या सम्बोधनका लागि समितिले पहल गर्ने बताए ।

उनले श्रमिकहरुका लागि तत्काल कोरोनाबिरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, निर्माण स्थलमा सडकको अवस्था मर्मत गर्नुपर्ने देखिएको जानकारी दिनुभयो । सभापति खड्काले यस बिषयमा समितिमा थप छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने बताए ।

१७३ रोपनी ८ आना क्षेत्रमा निर्माणा भइरहेको आयोजनाको लागत करिव ५ अर्ब ६७ करोड ६१ हजार अनुमान गरिएको छ । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृहसहितको व्यवस्था हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *