राष्ट्रकवि माधवप्रसाद घिमिरे पत्नीले पाइनन् भत्ता

देश

कुनै पनि राष्ट्रसेवक पत्नीले पतिको निधनपछि जीवनभर पतिको नामको पेन्सन पाउने व्यवस्था भए पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे पत्नी महाकाली घिमिरेले भने पतिको निधनपछि भत्ता पाएकी छैनन्।

गत वर्ष भदौमा राष्ट्रकवि घिमिरेको निधन भएपछि त्यही महिना राष्ट्रकवि र प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यका रूपमा पाएको ६५ हजार रुपैयाँपछि अन्य कुनै रकम नपाएको राष्ट्रकवि पत्नी महाकाली घिमिरेले  गुनासो गरिन्। ‘सरकारी जागिर खाएको भए पेन्सन पाइन्थ्यो। यत्रो समय राष्ट्रको सेवा नै गरेकाले दिनुपर्ने हो, दिएनन्’, उनले दुखेसो पोख्दै भनिन्, ‘पूरै दिएनन्, सबै कट्टी गरे।’

महाकालीलाई परिवार र आफन्तले सुनाएअनुसार राष्ट्रकविको अन्त्येष्टिमा सहभागी हुने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सम्बन्धित ठाउँमा कुरा राख्ने आश्वासन दिएका थिए। ‘मेरो त त्यस दिन होस् हवास् उडेको थियो। कुरा सुन्दा पनि सुनिन् र बुझ्दा पनि बुझिन’, अरुले भनेका कुरा सम्झँदै उनले भनिन्, ‘त्यतिबेला मुखले गर्छौं भने, कुरा सक्कियो। ब्यवहारमा भएन। मलाई यति लेउ भनेर माग्ने कुरा भएन। सरकारले जानेर दिनुपर्ने कुरा हो, दिएन। अरु के भन्नु र खै ?’ आफ्नो छोराछोरीलगायतका परिवारका सदस्यलाई माग्ने काम कतै नगर भनेर भनिदिएको पनि उनले बताइन्।

उमेरले झन्डै ८७ पुगिसकेकी महाकालीलाई बुढ्यौलीले धेरै च्यापिसकेको छ। शरीरमा सुगर, प्रेसर, थाइराइडलगायतका रोग छन्। ‘८६/८७ वर्ष भइसकें। हुन त कति वर्ष खाने हो र ?’, उनले चित्त दुखाउँदै भनिन्, ‘मानले केही पाए राम्रो हुन्थ्यो।’

राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रकवि बनाउन आफ्नी आमाको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएकाले यो भत्ता निरन्तरता हुनु पर्ने राष्ट्रकवि घिमिरेकी जेठी छोरी शान्ति अधिकारीले बताइन्।

आन्पूर्ण पोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *