नेकपा माओवादी केन्द्रले सबै कम्युनिस्ट पार्टी (शक्ति)हरुबीच एकताका लागि वार्ता र आवश्यक पहल थाल्ने भएको छ।
आइतबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले सबै कम्युनिस्ट पार्टीसँग एकता गर्न वार्तासहित आवश्यक पहल थाल्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँगै बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उक्त निर्णयबारे जानकारी दिए।
सबै कम्युनिस्ट शक्तिसँग एकताका लागि वार्तासहित आवश्यक पहल थाल्ने निर्णय भएकाले मातहतका पार्टी कमिटीलाई यस विषयमा ध्यान दिन निर्देशन दिइएको पनि श्रेष्ठले जानकारी दिए।
यस्तै, पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने तथा वडादेखि पालिकासम्मको संगठनलाई सुदृढीकरण र एकतावद्ध गराउन अघि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।
मन्त्रिपरिषद् विस्तारका विषयमा भने एमालेबाट अलग भएको समाजवादी एकीकृतको दल दर्ताको प्रक्रिया टुंगिएपछि मात्रै आवश्यक निर्णय गर्ने समझदारी बनेको श्रेष्ठको भनाइ छ।
पुस ११ देखि पार्टीको केन्द्रीय सम्मेलन हुने भएकाले त्यसअघि प्रदेश र स्थानीय समिति निर्माण गरेर अघि बढ्ने श्रेष्ठले जानकारी दिए।
बैठकमा प्रतिगमनप्रति सचेत हुनुपर्ने, शिक्षा, स्वास्थ्यसहित रोजगारीजस्ता मुद्दाहरुमा ध्यान केन्द्रित गर्न पार्टी कमिटीलाई निर्देशन दिने लगायत विषयमा छलफल भएको उनले बताए ।