देशभर थप ६० हजार शिक्षक दरबन्दी आवश्यक, विज्ञापन खुलाउँदै आयोग

देश शिक्षा

देशभर शिक्षक अभाव टार्न थप ६० हजार शिक्षक दरबन्दी आवश्यक पर्ने देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

देशभर २७ हजार ८१३ सामुदायिक विद्यालय छन् जसमा हाल स्थायी, अस्थायी र राहत गरेर जम्मा १ लाख ५६ हजार शिक्षक कार्यरत छन् । यसमा स्थायी शिक्षक दरबन्दीको संख्या १ लाख २ हजार ३६४ छ ।

निमावि र मावि तहमा करिब २५–२५ हजार तथा कक्षा ११ र १२ का लागि करिब ८ हजार शिक्षकको दरबन्दी थप्न आवश्यक रहेको केन्द्रले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले पनि २०७५ सालमा माध्यमिक तह (कक्षा १०) कक्षासम्म करिब ५० हजार नयाँ शिक्षक दरबन्दी आवश्यक रहेको ठहर गरेको थियो ।

शिक्षक सेवा आयोगले स्थायी दरबन्दीमा शिक्षक भर्नाको विज्ञापन खुलाउने तयारी गरेको छ । पदाधिकारी पाएसँगै आयोगले नियमित काम गर्न थालेको हो ।

आयोगका अध्यक्ष मधु रेग्मीले क्यालेन्डर बनाएर नियमित काम अघि बढाउने बताए । उनका अनुसार आयोग करिब एक वर्ष पदाधिकारीविहीन भएकाले केही नियमित कामहरू रोकिएका छन् ।

नियमित रुपमा चाँडै गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजनाअनुसार शिक्षक दरबन्दी खुलाउन लागिएको उनले बताए । केही दिनमै स्थायी शिक्षक दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले करिब १२ हजार स्थायी दरबन्दीमा विज्ञापन आह्वान गर्न लागेको बताए । उनका अनुसार आधारभूत तहका १० वटा विषयमा र माध्यमिक तहका १३ वटा विषयमा दरबन्दी आह्वान गर्न लागिएको छ ।

प्राथमिक तहमा ९ हजार १०६ जना, निमाविमा १ हजार ९१३ जना र माविमा १ हजार ४२ जना गरेर जम्मा १२ हजार ६१ जना शिक्षकको रिक्त दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी भइरहेको मरहठ्ठाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *