नेकपा एमाले छाडेर छुट्टै पार्टी दर्ता गर्दा माधव नेपाललाई साथ नदिएका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बेलुकीसम्म आफूहरुको माग पूरा गर्न २४ घण्टे ‘अल्टिमेटम’ दिएका छन् ।
आइतबार बसेको नेताहरुको बैठकले पार्टी एकता गर्न अध्यक्ष ओलीलाई १० बुँदेलगायतका मागहरु पूरा गर्न २४ घन्टे समय निर्धारण गरेको हो । यदि उक्त समयभित्र आफूहरुको माग पूरा नभए एमाले परित्याग गर्ने नेताहरुले बैठकमा छलफल गरेका छन् ।
्बैठकपछि अध्यक्ष ओलीलाई आफूहरुका माग पूरा गर्न जानकारी दिइसकिएको पनि जनाइएको छ । माधव नेपालको साथ छाडेकामध्ये ८ जना स्थायी कमिटी सदस्य र केही केन्द्रीय कमिटी सदस्यहरु बैठकमा सहभागी रहेका थिए ।
बैठकअघि उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने सम्भावना कम रहेको ब्रिफिङ गरेका थिए। साथै, केही दिनअघि घनश्याम भुसालले पार्टी एकता अध्यक्ष ओलीकै कारण भाडिएको र एकता नभएको खण्डमा ठूलो विद्रोह हुने पनि ठाडो चुनौती दिएका छन् ।