सेयर बजारमा उच्च अङ्कको गिरावट !

आर्थिक

आइतबार र सोमबार लगातारको दुईदिन सार्वजनिक बिदापछि आज खुलेको सेयर बजारमा उच्च अङ्कको गिरावट भएको छ । आज सेयर बजार परिसूचक नेप्से ५६.०३ अङ्कको गिरावट हुँदा ३१२४.८७८ अङ्कमा बन्द भएको छ ।

जलविद्युत कम्पनीको सेयर मूल्यमा भारी गिरावट आउँदा नेप्सेमा उच्च अङ्कको गिरावट भएको हाे । आज नेप्सेमा वित्त कम्पनी र निर्जीवन बिमाबाहेक सबै उपसूचकमा गिरावट हुुँदा जलविद्युत् उपसूचक सर्वाधिक ६.२१ र विकास बैंक उपसूचक ३.९८ तथा लगानी उपसूचक ४.४३ प्रतिशतले गिरावट भएको छ ।

यता, वित्त कम्पनी उपसूचक १.४७ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.७६ प्रतिशतले घटेको छ ।

गत साता विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । गत शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा जलविद्युत् कम्पनीको सेयर मूल्य ठिक नभएको भन्दै मन्त्रालयले नै विद्युत् नियमन आयोगलाई विज्ञप्ति निकाल्न सुझाव दिएको बताएका थिए ।

आज नेप्सेमा ४० वटा हाइड्रोपावर कम्पनीको सेयर कारोबारमा आएकोमा ३८ कम्पनीको सेयर मूल्य घटेको छ । १७ वटा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै, धेरै सेयर मूल्य घट्ने ४० कम्पनीमा ३५ वटा हाइड्रपावर मात्रै रहँदा लगातार ३१ वटासम्म हाइड्रोपावर कम्पनी मात्रै रहेका छन् ।

नेप्सेमा उच्च अङ्कको गिरावटका बाबजुद गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै, सेन्ट्रल फाइनान्सको सेयरमूल्य ७.४७ प्रतिशत, नेको इन्स्योरेन्सको सेयर मूल्य ५.०६ प्रतिशत र जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.४९ प्रतिशतले बढेको छ ।

नेप्सेमा उच्च गिरावट हुँदा गत बिहीबारको तुलनामा कारोबार रकम केही घटे पनि १६ अर्बमाथिको कारोबार भएको छ । आज नेप्सेमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिद-बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजारको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *