ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने

देश

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न अध्यक्ष ओलीले विहान ११ बजे पत्रकार सम्मेलन बोलाएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलन हुनेछ ।

बुधवारै दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई निर्वाचन आयोगले दल दर्ता प्रयोजनअन्तर्गत सनाखतका लागि बोलाएका बेला त्यसअघि नै अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन् ।

नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यसँग अध्यक्ष ओली २ जेठमा फर्किन सहमत भएका छन् । मंगलबारको स्थायी कमिटीले बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको थियो । बैठकमा १० जना नेताहरु पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.