सेयर कारोबार प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डबाट बाहिरिए चन्द्र ढकाल

खास खबर

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका हुन्। ढकाल महासंघबाट प्रतिनिधित्व गर्दै बोर्डको सदस्य बनेका थिए।

ढकालले आफू उक्त पदमा बस्न नचाहेको भन्दै महासंघ अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेको जानकारी दिइएको छ। महासंघको तर्फबाट अर्को व्यक्ति पठाउन उनले अध्यक्ष गोल्छालाई आग्रह गरेका छन्।

बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउद, बोर्ड सदस्य ढकाललगायत मुछिएका थिए। नियामक निकायको नेतृत्वमा बसेर बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न अनुमति दिनुअघि उक्त कम्पनीको सेयर नियमविपरीत परिवारको नाममा खरिद गरेको आरोप उनीहरुमाथि लागेको छ। यस सम्बन्धमा अर्थ मन्त्रालयले छानबिन गरिरहेको छ।

ढकालका भाइले उक्त कम्पनीको खरिद सेयर खरिद गरेको खुलेपछि उनी पनि यो विवादमा मुछिएका थिए। तर, महासंघबाट प्रतिनिधित्व गरेर बोर्डमा सदस्य बन्नुअघि नै ढकालका भाइले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको प्रस्टीकरण महासंघले दिएको थियो। ढकालले पनि आफूले नियमविपरीत काम नगरेको दाबी गर्दै आएका छन्।

यही प्रकरणमा मुछिएपछि नेप्सेका सीईओ साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए। धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने राजीनामा नदिने अडान राख्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *