ओखलढुंगामा एमाले विभाजनको असरः माधव समूह अलमलमा

देश

नेकपा एमाले विभाजन र एकताको तानातानमा जिल्लाका कार्यकर्ता भने मौन छन् । स्थानीय तहका जनप्रतिनिधि पनि नेकपाकालीन गुटको गतिविधिमा विभाजित भए पनि पार्टी विभाजनसम्म पुग्दा मौन छन् । एमालेको स्थानीय कमिटी बैठकले एकता भएको घोषणा गर्दै पार्टीका कमिटी २ जेठ २०७५ अघि फर्केको बताए पनि जिल्लामा त्यसको प्रभाव परेको छैन । केपी ओली समूहले गाउँ तथा पालिका अधिवेशन घोषणा गरेर केन्द्रको निर्णय नमान्ने सन्देश दिएको छ । केन्द्रको भन्दा एक महिनाअघि नै ओली समूहले अधिवेशन घोषणा गरेको हो । ३ असोजमा वडा तथा ९ असोजमा पालिका अधिवेशन तोकेर समानान्तर गतिविधि त्यागेर पार्टीमा फर्किन आग्रह गरेको छ ।

उता माधव समूहमा रहेको समानान्तर कमिटीले विस्तारित बैठक आयोजना गरेर एकता र आगामी रणनीति तय गर्न ५ सदस्यीय कमिटी निर्माण गरेको छ । जिल्लाका निर्वाचित सचिव र अध्यक्ष ओली समूहमा लागेका छन् भने उपाध्यक्ष र उपसचिवसहित बहुमत सदस्य तत्कालीन माधव समूहमा थिए । जनप्रतिनिधि पनि विभाजित थिए । एमालेको तेस्रो धारले ओली समूहसँग १० बुँदे सम्झौता गरेपछि जिल्लाका कमिटी पनि सोही अनुसार चल्नुपर्ने मान्यता ओली समूहको छ ।

सांसदको भूमिका अर्थपूर्ण

जिल्लामा ओली समूह एकलौटी अघि बढ्न खोजेपछि माधव समूहमा लागेका नेता कार्यकर्ता भने यस क्षेत्रका संघीय सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारको बाटो हेरेर बसेका छन् । उनी माधव समूहमा थिए । पछिल्लो पटक एकता अभियानमा सक्रिय रहेकाले कार्यकर्ता उत्साहित भए पनि ओली समूहको गतिविधिले उनीहरु मौन छन् । सो समूहका विद्यार्थी नेता निशान श्रेष्ठले भने, ‘जिल्लाको एउटा भाडाको कोठामा रहेको पार्टी पाँच वर्षमा टोलवस्तीमा पुर्‍याएर चुनाव जित्ने नेता (यज्ञराज) हुन्, उनको भूमिकाबिना पार्टी अधुरो हुन्छ ।’

एमालेको राजनीतिमा सांसद सुनुवार मूल पात्र हुन् । उनी जता लाग्छन् त्यतै नेता कार्यकर्ता बढी हुन्छन् । उनी माधव समूहमा लागेर एकता अभियानमा खटिए । उनले विभाजन नरोज्ने निश्चित भएपछि एकथरि कार्यकर्ता उत्साहित छन् भने अर्काथरि ओली समूहको ‘अराजनीतिक’ गतिविधिबाट वाक्क बनेका छन् ।

सांसद सुनुवारले केन्द्रमा एकताका लागि निकै कसरत गरेपछि जिल्ला नफर्किँदा उनको समूहका नेता कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधि अहिले पनि अन्याेलमा छन् । उनको समूहले पार्टी एकता र आगामी कार्यनीति बनाउन कार्यदल बनाएर परामर्श लिन थालेको छ । आधाआधी नेता कार्यकर्ता ओलीसँग जान नहुनेमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *