रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङको समस्या देखिएको छ । विमानस्थलमा पार्किङ क्षेत्र सानो र भैरहवाबाट उडान हुने विमानहरुको संख्या धेरै हुन थालेपछि पार्किङको समस्या भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सिद्धार्थनगरका निमित्त महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् ।
अहिले विमानस्थलमा घरेलुतर्फ दैनिक ४ वटा मात्रै विमान पार्किङ गर्न मिल्ने भएपनि ७ वटासम्म जहाज पार्किङ गर्न बाध्य रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘विमानस्थलमा जहाज पार्किङ एरीया साघुँरो छ । दैनिक ४ वटामात्रै विमान पार्किङ गर्न मिल्ने अवस्था छ । उडानहरु थपिदैँ पार्किङको लागि हम्मेहम्मे परेको छ ।’
उक्त विमानस्थलबाट दैनिकी १७/१८ उडान सञ्चालन भइरहेको ठाकुरको भनाई छ । मौसमी खराबी, चराचुरुङी लगाएतको अवरोधले उडानमा समस्या हुने गरेर र विमानलाई होल्डमै राख्न बाध्य हुने उनी बताउँछन् । विमानस्थलबाट यति एअरलाइन्स, सौर्य एअरलाइन्स, श्री एअरलाइन्स, बुद्ध एअर लगाएतका विमानहरुले उडान भर्ने गरेका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणको कामले गर्दा पनि उडान र पार्किङमा सास्ती खेप्नु परेको उनको भनाई छ ।
उक्त विमानस्थलाई ‘वैकल्पिक’ विमानस्थलको रुपमा समेत प्रयोग गरिदैँ आएको छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा भिड–भाड तथा लामो समय आकाशमा होल्ड गर्नुपर्ने अवस्था सिर्जना भएमा धनगढी, सिमरा विमानस्थलबाट छुटेका विमानहरु भैरहवा विमानस्थलमा पार्किङको लागि आउने गरेको उनको भनाई छ ।