सभामुखको निर्णय: माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्न पर्दैन

देश

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहित एमालेले निष्काशन गरेका १४ जना सांसदलाई कारवाही गर्न नपर्ने निर्णय सुनाएका छन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भई १४ जना सांसदहरू आबद्ध भएकाले कारवाही गर्न नपर्ने निर्णय सभामुख सापकोटाले गरेको जानकारी दिए ।

नयाँ दल खोल्ने तयारीमा लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले १ भदौमा वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई सांसद पदबाट पदमुक्तको सिफारिस गर्दै पार्टीबाट निष्काशन गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय सदस्य वा सांसद २० प्रतिशत पुर्‍याए दल विभाजन हुने अध्यादेश २ भदौमा जारी गरेकी थिइन् । अध्यादेशलगत्तै नेपालसमूहले दल विभाजन तथा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । ९ भदौमा निर्वाचन आयोगले सनाखत गर्दै दल दर्ताको मान्यता दिएको थियो ।

दल दर्ता हुनुअघि एमालेले कारवाही गरेका सांसदको पदरिक्तको सूचना टाँस गर्न सभामुख सापकोटा समक्ष माग गरेको थियो । तर कारवाही सिफारिस गरेको १५ दिनसम्म निर्णय लिनुपर्ने प्रावधानअन्तर्गत सभामुख सापकोटा विचाराधीन अवस्था रहे । पार्टी दर्तापछि उनले सिफारिसको १३ औ दिनमा कारवाही गर्न नपर्ने निर्णय गरे ।

Leave a Reply

Your email address will not be published.