सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ ।
यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको बिरूडालाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गर्नुभएको छ ।