सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४ औं महाअधिवेशन नजिँकिदो छ । महाअधिवेशन अन्तर्गत यही १८ गते वडाको अधिवेशन हुँदै छ । अधिवेशनको संघारमा चहलचहल पनि बढ्दो छ । यसैबीच, देशभरसहित अर्घाखाँचीमा पनि महाधिवेशनको चहलपहल सुरु भएको छ । महाधिवेशनको मिति तय भए सँगै जिल्लामा सभापतिमा उठ्ने आकांक्षीहरु पनि थपिएका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ५ मा जन्मिएका यादवप्रसाद घिमिरेले आफू पार्टी सभापतिमा भिड्ने बताएका छन् । कृष्ण माविमा अध्यापन गराउने उनले शिक्षक पेशाबाट अवकाश लिएको घोषणा गरेका छन् । नेपाल शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका घिमिरेको जीवन संघर्षमय नै बनेको छ । राजैनीतिक जीवनको बारे संक्षिप्त जानकारी दिँदै उनले सामाजिक सञ्जाल मार्फत यस्तो अनुभव शेयर गरेका छन् ।
‘जीवन शास्वत सत्य छ । हामी मरणशील प्राणी हौं । हरेक मानिस आफु र आफ्ना प्रयत्नहरु देश समाज र राष्ट्रका लागि क्षमता र औकातका बलमा गर्दै जान्छ । हामी सामाजिक प्राणी हौ हाम्रा सबै कोशिस समाज कै लागि हुनुपर्छ । त्यसैले कोहि कसैप्रति दुरभाव नगरौं, असहिष्णु नबनौ, मित्रवत व्यवहार गरौं । सबै आन्दोलन र अभियान हाम्रा हुन ।
म पाणिनि गाउँपालिका –५ मैदानमा जन्मे हुर्के र सबै कामकाज यहाँ र यसै जिल्लामा गरे । म कक्षा १–१० सम्म श्री कृष्ण मावि मैदानमा अध्ययन गरे । त्यसपछि एसएलसी परीक्षाको नतिजा पूर्व अध्यापन कार्य शुरु गरे । प्रावि र माध्यमिक शिक्षकको रुपमा लामो समय अध्यापन गरे । उच्च मावि संचालनको क्रममा शिक्षक अभाव र विद्यालय संचालन अत्यावश्यक भई सकेपछि शिक्षक अभावलाई व्यवस्थापन गर्न स्रोत व्यक्ती पदमा जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा तत्कालिन अवस्थामा माग भई आएको ठाउँमा नियुक्त भई लामो समय काम गरे । यो सबै अवसर प्रदान गर्ने विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रधानाध्यापक तत्कालिन हरिप्रसाद पौडेल सहित सम्पूर्ण र मैदानबासी सबैजनहरूलाई कृतज्ञता प्रकट गर्दछु ।
अध्ययनमा अब्बल नै थिए शिक्षण र समाज सेवा रोजाई बन्यो । त्यसैले अन्य पेशामा जान मन लागेन दुवै काम समय व्यवस्थापन गरी गर्न सकौ भन्ने मनासयका साथ काम गरें । यस समयावधि भित्र नेपाल प्राथमिक शिक्षक संघ जिल्ला कार्य समिति सदस्य, नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला कार्य समिति सदस्य सचिव अध्यक्ष र नेपाल शिक्षक युनियन अर्घाखाँचीको अध्यक्ष भई शिक्षा विकास र अन्य काममा सहभागी बन्ने मौका पाएँ ।
शिक्षा क्षेत्रका काममा सहयोग गर्न अवसर प्राप्त भयो नेपाली कांग्रेस प्रति बुबा र परिवारको उच्च लगाव र मेरो रुचीका कारण २०३६/०३७ सालको जनमत संग्रहताक विद्यालयमा सानै कक्षामा पढ्दा बहुदलीय व्यवस्थाको पक्षमा आयोजित कार्यक्रममा सहभागी हुने हेर्ने सहयोग गर्ने नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसका सबै गतिविधिमा लाग्ने सहयोग गर्ने सामाजिक कामकाज गर्न सके । २०४२ सालको सत्याग्रह २०४६ सालको पंचायत विरोधी आन्दोलन २०६२/६३ को आन्दोलन र सबै निर्वाचनमा क्रियाशील रहे ।
नेपाल विद्यार्थीसंघको जिल्ला अधिवेशन प्रतिनिधि, नेपाली कांग्रेसको तर्फबाट क्षेत्रीय प्रतिनिधि, गाउँ कार्य समिति सचिव, गाउँ कार्य समिति सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सहित विभिन्न तह र पदमा रही काम गर्ने मौका पाएँ ।
यो अवसर प्रदान गर्नु हुने समस्त विद्यालय, कर्मचारी, शिक्षक मित्रहरु, सबै क्षेत्रका सम्पूर्ण महानुभावहरु समस्त कांग्रेसजनहरू, शुभेच्छुक महानुभावहरु, सेवा निवृत जीवन र राजनीतिक जीवनको सफलताको शुभकामना प्रदान गर्ने सबैजनहरु नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती गाउँपालिका, नगरपालिका समिति, वडा समिति, नेपाली कांग्रेस र सम्बद्ध सबै प्रति यँहा सम्म आउन मद्धत गर्ने मेरो परिवारजन बुबाआमा, भाईबहिनी सहित सबै प्रति उच्च सम्मान सहित हार्दिक अभिनन्दन गर्दछु, आभार व्यक्त गर्दछु स्मरण गर्दछु । सधै झै आगामी दिनमा सहयोग सद्भाव र विश्वासको अपेक्षा गर्दछु ।’
ग्लोबल आवाज बाट