ट्राफिक नियम उल्लंघन गर्ने चालकले अब क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न पाउने भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।
महाशाखाले आज (बिहीबार)देखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिवाना तिर्न बैंकमै जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । उहाँले सवारी नियम उल्लंघन गरेका चालकले अब क्यूआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिनुभयो ।