सत्तारुढ कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट

खास खबर

सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

प्रदेश सांसद वैद्यले सर्वोच्चमा रिट दर्ता गरेको जानकारी दिएका छन्। ‘रिट दर्ता भएर प्रक्रियामा गइसक्यो,’उनले भने ।

वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। ‘कोभिडका कारण नेपाली कांग्रेसको महाधिवेशन सारौँ भनेर रिट दायर गरेको हुँ,’ उनले भने।

वैद्यले शुक्रबारबाट हुन गइरहेको अधिवेशन सारेर कहिलेबाट सुरु गर्ने भन्नेबारे भने रिटमा केही खुलाएका छैनन्।

अहिलेकै अवस्थामा महाधिवेशन गरे लाखौंको ज्यान जोखिममा पर्ने उनको भनाइ छ।

‘अहिलेकै अवस्थामा महाधिवेशन गरे लाखौं मानिसको ज्यान जोखिममा पर्ने खतरा छ’ वैद्यले भने, ‘कोभिडको व्यवस्थापन गरौं। सवैलाई भ्याक्सिन लगाऔं।’

अहिले महाधिवेशन नगर्दैमा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने पनि उनले जिकिर गरे। सांसद वैद्यले कांग्रेस निर्वाचन आयोगमा २०७३ मंसिर ३० मा दर्ता भएको स्मरण गर्दै, ‘वैधानिकताका कुराहरु आइरहेका छन्। तर, अहिले महाधिवेशन नगर्दैमा वैधता हट्ने क्रा हुँदैन। अहिले त दल दर्ता भएको पाँच वर्ष पनि पुगेको छैन।’

गत साउन ३० गते बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मका लागि निर्धारण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *