समाज लघुवित्त स्वस्तिक लघुवित्तसँगको मर्ज नहुने, तोडियो सम्झौता !

आर्थिक

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वस्तिक लघुवित्तसँगको गाभ्ने गाभिने कार्य (मर्जर) तोडेको छ।

सर्लाहीको मलंगवामा मुख्य कार्यालयको समाजले सिरहाको लहानमा मुख्य कार्यालय रहेको स्वस्तिकसँगको मर्जर तोडेको राष्ट्र बैंकलाई जानकारी दिएको हो।

बुधबार बसेको समाजको सञ्चालक समितिको ६७औँ बैठकले मर्जर अघि नबढाउने निर्णय गरेको हो।

यी दुवै लघुवित्तबीच गत वर्ष असोज ५ गते आपसमा गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। त्यसका लागि ०७७ फागुन २० मा राष्ट्र बैंकले दुवैलाई गाभिन सैद्धान्तिक सहमति समेत दिएको थियो।

समाजले गत जेठ ११ मा मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाके पनि गणपूरक संख्या पुगेन। त्यसपछि गत असार १० गते पुरानै प्रस्तावमाथि छलफल गर्न दोस्रो पटक विशेष साधारणसभा बोलाएको थियो।

कम्पनी ऐनको दफा ७३ को उपदफा ३ अनुसार विशेष साधारणसभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपूरक मानिने व्यवस्था भएअनुसार कुल सेयरको ५५.४९ प्रतिशतको उपस्थिति रहेकोमा कुल उपस्थितिको ६६.६७ प्रतिशत र कुल सेयरपुँजीको ३७ प्रतिशत सेयरधनीबाट सैद्धान्तिक सहमतिमा उल्लेख भएअनुसार केन्द्रीय कार्यालय बर्दिबास महोत्तरी नभई स्वस्तिककै केन्द्रीय कार्यालय लहानमा राख्ने भएपछि समाजले मर्जर गर्न नसकिने जनाएको हो।

बहुमत सेयरधनीले लहानमा केन्द्रीय कार्यालय राख्न नसकिने जनाएको जानकारी समाजले राष्ट्र बैंकलाई दिएको हो।

राष्ट्र बैंकले यही भदौ ५ मा मर्जर प्रक्रियालाई मूर्तरुप दिन यससम्बन्धी प्रसताव पारित गर्न पत्र काटेको थियो। समाजले त्यही पत्रको जवाफमा मर्जर तोडेको जनाएको हो।

राष्ट्र बैंकको रायपछि सेयरधनीसँग मर्जरबारे आन्तरिक छलफल भए पनि सकारात्मक निष्कर्ष ननिस्किएको समाजले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *