चर्को विरोध हुनेभएपछि ओली सरकारले ल्याएका दुईओटा कार्यक्रम कार्यान्वयन गर्न देउवा सरकार बाध्य भएको छ ।
अघिल्लो सरकारले ल्याएको चालू बजेटका योजना तथा कार्यक्रम रोकिरहेको यो सरकारले सबैखाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको वृद्धि भएको तलब कार्यान्वयन नगरे अप्ठ्यारो पर्ने भएपछि लागू गरेको हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए पनि कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले गरेको हो ।
सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा केही संशोधनका लागि प्रतिस्थापन विधेयकको तयारी गरेका छन् । त्यसमा सामाजिक सुरक्षा भत्ताको विषय भने यथावत् रहने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउनदेखि नै लागू हुनेछ । प्रत्येक चार महीनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीले बढेको भत्ता एकमुष्ट पाउनेछन् ।
सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।
मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौंको ५९ हजार २५ सम्म छ । यससँगै यो कार्यक्रम समेत लागू हुनेछ ।