नेपाल वायु सेवा निगमको ऋण ५० अर्ब

खास खबर

नेपाल बायु सेवा निगम अहिले ५० अर्ब ऋण र ११ अर्ब सञ्चित नोक्सानीमा रहेको निगमकै अधिकारीले सार्वजनिक गरेका छन्। अर्थ मन्त्रीसहितको उच्च सरकारी अधिकारीसँगको छलफलमा निगमका प्रबन्ध निर्देशक डिम प्रसाद पौडेलले सो विवरण सार्वजनिक गरेका हुन्।

उनले निगम हाल ५० अर्ब ऋण तथा ११ अब सञ्चित नोक्सानीमा रहेको बताउँदै उनले निगम घाटामा जानुको कारण निगममा पटक-पटक हुने राजनैतिक हस्तक्षेप र कमजोर कानुनी व्यवस्थालाई देखाए। उनले आवश्यकताभन्दा बढी कर्मचारीका कारण समेत निगमको आर्थिक अवस्थामा सुधार नआएको दाबी गर्दै निगममा आवश्यकता भन्दा साढे पाँच सयको हाराहारीमा बढी कर्मचारी रहेको बताएका थिए।

अहिले निगमका कर्मचारी आन्दोलनमा छन्। निगमको अवस्थाबारे शुक्रवार अर्थ मन्त्रालयमा छलफल भएको थियो। छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासिनी ,राजश्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती र पर्यटन सचिव यादव कोइराला समेत सहभागी थिए।

छलफलमा अर्थ मन्त्री शर्माले निगमको समस्या पहिल्याएर समाधान गर्न उच्चस्तरीय समिति गठन गर्न सुझाव दिएका थिए। छलफलमा उनले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधिसँगै उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ राखेर समिति गठन गर्न सुझाव दिएका थिए।

अर्थमन्त्री शर्माले कर्मचारीहरूसँग छलफल गरेर आन्दोलन टुङ्ग्याएर निगमको नियमित काम सुरु गर्न समेत पौडेललाई सुझाव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *