सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।
सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन्।
संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ।
समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि राखेको जनाएको छ।
यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ। नेप्सेमा सोमबार दिउँसोसम्म १२० दशमलव १६ अंकको उछाल आएको छ। अहिलेसम्म पाँच अर्ब ४५ करोड ४३ लाख १६ हजार चार सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ। एउटाबाहेक सबै समूहका सूचांक हरिया देखिएका छन्।
विकास बैंक र हाइड्रोपावर समूहको सूचांक ७ अंकभन्दा माथिले उकालो लागेको छ। फाइनान्स ६ अंकभन्दा बढीले बढेको छ। आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ।
शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।
पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई सोमबार फोन गरेका थिए । कुराकानीका क्रममा उनले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थिति सहज बनाउन आग्रह गरेका हुन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।साथै, कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर समस्या समाधान गर्न पनि उनले गभर्नरलाई सुझाएका छन् ।