तालिबान सरकार गठन भएको भोलिपल्टै चीनले अफगानिस्तानलाई आर्थिक सहयोगकाे घाेषणा गरेको छ।
अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको ३ हप्तापछि तालिबानले गत मंगलबार साँझ आफ्नो नेतृत्वमा अन्तरिम सरकार घोषणा गरेको छ।
त्यसको भोलिपल्ट बुधबार चीनले मानवीय सहायता र कोरोनाविरूद्ध कार्यक्रमका लागि भनेर अफगनानिस्तानलाई २ सय युआन अर्थात् ३ करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग दिने घोषणा गरेको हो।
ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई सहयोग दिने घोषणा बुधबार गरेका हुन्।
विदेशमन्त्री वाङले अफगानिस्तानलाई खाद्यान्नसहित कोरोनाविरूद्ध लड्न अरू स्वास्थ्य सामग्रीसहित ३० लाख डोज भ्याक्सिन पनि दिने बताएका छन्।
बुधबार चीनसहित अफगानिस्तानका छिमेकी मुलुकहरू– चीनसहित पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तान र तुर्कमेनिस्तानका विदेशमन्त्रीहरूबीच भर्चुअल बैठक भएको थियो।
त्यसै क्रममा चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई सहयोगको घोषणा गरेका हुन्।
अफगानिस्तानमा उत्पन्न नयाँ परिस्थितिमा क्षेत्रीय स्थिरता र समृद्धि सुनिश्चित गर्न देखिएका साझा चुनौती र नयाँ अवसरबारे छलफल गर्ने भनेर पाकिस्तानले गरेकाे आह्वानअनुसार बैठक बसेकाे थियाे।