गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

खास खबर

मन्त्रिपरिषद् विस्तारका विषयमा छलफलमा बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ। बिहीबार दिउँसो ३ बजेका लागि तय गठबन्धनको बैठकमा सबै नेताहरु सहभागी नभएपछि बैठक बिनानिष्कर्ष टुंगो लागेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन्।

सबै शीर्ष नेताहरू जुट्न ढिलाइ भएकाले बैठक शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्नेगरि स्थगित भएको पौडेलले नेपाल लाइभलाई बताइन्।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल उपस्थित भएका थिए।

यसैगरी, कांग्रेसका दोस्रो तहका नेताहरू समेत बैठकमा सहभागी भएका थिए। बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने विषय उठेको पौडेलले बताइन्।

‘मन्पित्ररिषद् विस्तारका विषयमा सत्तारुढ गठबन्धनको बैठक बोलाएको थियो। त्यहाँ प्रचण्ड-माधव कमरेड हुनुहुन्थ्यो। उपेन्द्रजी आइपुग्नु भएन’ पौडेलले भनिन्, ‘माधव कमरेड काम पर्‍यो भनेर बीचमै निस्कनु भयो। त्यसपछि भोलि बिहान ९ बजे बैठक बस्ने सहमति गरेर उठ्याै‌ं।’

सत्तारूढ गठबन्धनको बैठक सकिएपछि जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका थिए। ‘अघि साथीहरुले बसेर छलफल गर्नु भयो। म उपस्थित हुन सकिनँ’ यादवले भने, ‘अहिले म बालुवाटार पुगेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *