प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिलो पटक गर्न लागिएको विधान महाधिवेशन मिति सारेको छ।
एमालेले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो।
विधान महाधिवेशनको लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ। उक्त बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरू स्थायी समितिको बैठकमा प्रस्तुत गर्नेछ।
त्यसमाथि व्यापक छलफल गरेर मात्रै अघि बढ्ने पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। उनले यसमा आएका सुझावहरूलाई राखेर केन्द्रीय कमिटीको बैठक असोजको ८ र ९ गतेका लागि बोलाइएको पनि जानकारी दिए।
विधान महाधिवेशनमा भाग लिने
सचिव भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने ऐन रहेपनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परिक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रिय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरुले भाग लिन पाउँनेछन्।
त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनितहरुले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताउनुभयो । योसहित करिव ३ हजार प्रतिनिधिहरुले भाग लिने उनले बताए।