इजरायलको रोजगारीका लागि भाषा परीक्षा सकियो, अब कसरी छानिएर, कहिले जान पाइन्छ त ?

खास खबर

इजरायलको रोजगारीका लागि भाषा परीक्षा आज सकिएको छ ।

वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा सम्पन्न गरेको हो । बिभागले तोकेको काठमाडौँका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न भएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ७ हजार ९ जनाले प्रवेशपत्र पाएका थिए । प्रवेशपत्र प्राप्त गरेका ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला मध्ये सोमबारको परीक्षामा ६९२ जना परीक्षार्थी अनुपस्थित भए।

परीक्षाको नतिजा २ देखि ५ दिनभित्रमा प्रकाशन गरेर १० देखी १२ दिन भित्र अन्तर्वार्ता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरि इजरायल सरकारलाई उपलब्ध गराउने विभागको तयारी रहेको बिभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले भने ‘परीक्षा दिएकाहरुको कपि सिरियल छ भने परीक्षामा सहभागीहरुको ओएमआर बिधिबाट कपि चेक हुने हुँदा दुई दिनमै नतिजा दिन सकिने सम्भावना छ ।’ भाषा परीक्षा पछी के हुन्छ भन्ने प्रश्नमा ज्ञवालीको अनुसार परीक्षामा सहभागी भएका महिला र पुरुषले पाएको अंकको आधारमा १६८० जना अन्तर्वार्ताको लागि छनौट हुनेछन् ।

जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छानिने छन् । अन्तर्वार्ताको क्रममा २८० जना बाहिरिने मध्ये ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला पर्नेछन् । यसरी एक हजार ४०० जनाको नाम इजरायल सरकारलाई बुझाइनेछ । दुतावासले पाएको उक्त नाममध्ये कम्प्युटर प्रविधिबाटै ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गोलाप्रथा मार्फत छानिनेगरि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि छनोट हुनेछन् ।

इजरायल सरकारले गोलाप्रथा गर्दा ४०० जना फालिने हुँदा इजरायल रोजगार प्रक्रियामा बजारमा भएको हल्ला जस्तो सजिलै आफ्नो मान्छे सेटिङ गरेर पठाउन सकिने अवस्था नभएको बिभागको दावी छ ।

सोमबार भाषा परीक्षा तीन तहको सुरक्षामा सम्पन्न भएको र बिभागले सबै केन्द्रबाट परीक्षार्थीहरुको कपी चिकित्सा शिक्षा आयोग सानोठिमीमा जिम्मा लगाएको ज्ञवालीले बताएका छन् ।

कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै १ लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । टिकटको मूल्य कम भएमा तोकिएको अनुमानित लागत भन्दा कममा इजरायल जान पाइने विभाले जनाएको छ । इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *