प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ।
संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ।
सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।
समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
आजको संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताए।
सो अवसरमा शर्माले भने ‘विधेयक पारित गर्नका लागि केही समय ग्याप रह्यो भने सरकारी खर्च रोकिन पनि सक्छ, खर्च रोकिए पनि कर उठ्छ।’
आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रोष्टम घेराउ र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्। सभामुख सापकोटाले बैठक सुरु भएको जनाए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु नाराबाजी गर्दै रोष्टम अघि आइपुगेका थिए।
तर उनले त्यसबारे कुनै टिप्पणी गरेनन्। अघिल्ला दिनहरुमा जस्तो उनले न त प्रतिपक्षीहरुलाई बस्न भने न त बैठकमा नाराबाजी रोक्न आग्रह नै नै गरे।