संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ ।
भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले यसबीचमा एमालेसँग सहमति खोज्ने प्रयास गरे पनि ठोष उपलब्धी हुन सकेको छैन । संसदको अवरोध हटाउन सभामुख सापकोटाले सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो । तर उक्त वैठक एमालेले भने बहिष्कार गरेको थियो ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।
विहान ११ बजे बस्ने आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८–७९ को प्रतिस्थापित बजेट पारित गर्ने लगायतका सम्भावित कार्यसूची रहेको छ । बजेट पारित नहुँदा सरकारी कार्यालयहरुमा बजेट होलिडेको अवस्था बनेको छ ।