सिरहाको गोलबजार नगरपालिका- ४ निपनिया कुटी टोलका हरिहरदेवी महराले प्रेमीलाई ऋण गरी ६० हजार रुपैयाँ दिएर आफ्नै श्रीमान दुखरन मोचीको हत्या गराएको खुलेको छ। गत भदौ १८ गते निपनियाका ३९ वर्षीय मोचीको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेको थियो।
उक्त हत्या नीजकै श्रीमती ३८ वर्षीया हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ। हत्या आरोपमा हरिहरदेवीलाई घरबाटै प्रहरीले आइतबार पक्राउ गरी सोमबार साँझ सार्वजनिक गरेको छ। भारतीय प्रहरीले नेपाल प्रहरीलाई घटनास्थलको सम्पूर्ण विवरण पठाएको थियो।
घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतकै जयनगर थानाबाट थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले बताए। पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन्।
अन्नपुर्ण पोस्ट बाट