देउवाले परराष्ट्र मन्त्री बनाएका नारायण खड्काको बायोग्राफी यस्तो छ

देश

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद नारायण खड्का परराष्ट्र मन्त्री बनेका छन्। मन्त्रिमण्डल बिस्तार नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा एक मन्त्री थपेका हुन्।

देउवा प्रधानमन्त्री बनेको ७१ दिनपछि परराष्ट्र मन्त्री बनेका खड्काको कार्यव्यस्तता यति छ कि उनी आजै राति विदेश जाँदैछन्।

मन्त्रीको सपथ खाएपछि उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गएर पदवहाली गरेका छन्। अमेरिकाको न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा जाने नेपाली टोलीको नेतृत्व खड्काले नै गर्दैछन्।

खड्का झन्डै तीन दशकदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन्। उनको पुर्ख्यौली घर भोजपुर हो। खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमै भएको थियो। पछि उनको परिवार उदयपुर बसाइ सर्‍यो।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ मा उनको घर छ। उनी पछिल्ला तीन आमनिर्वाचनमा लगातार उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भइरहेका छन्।

कांग्रेस उदयपुरका एक नेताका अनुसार खड्काले २०५० सालतिर पार्टीको क्रियाशील सदस्यता लिएका हुन्।

खड्का भने आफू २०२३ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहेको बताउने गर्छन्। तर त्यतिबेला नेविसंघ पनि गठन भएको थिएन। २०२७ सालमा नेविसंघ गठन भए पनि नेविसंघमा खड्काले काम गरेनन्।

खड्का २०५६ सालको आमनिर्वाचनमा उदयपुरबाट चुनाव उठे पनि त्यसबेला एमालेसँग पराजित भए। त्यसपछि २०६४, २०७० र २०७४ सालमा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निरन्तर उनी नै चुनाव जित्दै आइरहेका छन्।

खड्काले २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनको सल्लाहकार बनेर काम गरेका थिए। क्यानडियन नागरिक इशावेलसँग विवाह गरेका खड्का केही समय क्यानडा बसेका थिए। भट्टराईको आँखाको उपचारका लागि क्यानडा जाँदा खड्काले सहयोग गरेपछि उनीहरूको सम्बन्ध मजबुद् भएको बताइन्छ।

२०५७ सालमा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भए। खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्।

२०५९ असोज ४ मा शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा खड्का पनि देउवासँगै लागेका थिए। किसुनजीको सल्लाहकार भएर काम गरे पनि त्यो बेला उनी देउवासँग नयाँ पार्टीमा गएका थिए।

उनी प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य भने भएनन्। पाँच वर्षपछि देउवाले फेरि पार्टी कांग्रेससँग एकता गरे। २०६४ सालमा कांग्रेस एक भएको थियो। त्यसपछि २०६७ मा कांग्रेसको १२ औं महाधिवेशन हुँदा खड्का पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य बने।

उक्त महाधिवेशनपछि खड्का सुशील कोइरालासँग नजिक हुन थाले। कोइरालाले प्रधानमन्त्री हुँदा २०७० मा उनलाई सहरी विकास मन्त्री बनाए।

२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा पनि खड्का केन्द्रीय सदस्य बने। त्यसबेला उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट थिए।

उदयपुरबाट लगातार आमचुनाव जिते पनि खड्काको पार्टीभित्र भने पकड छैन। पार्टी संगठन विस्तारमा खड्काले मन लगाएर काम नगरेको आरोपसमेत लाग्ने गर्छ।

पछिल्लो समय खड्का कांग्रेसको परराष्ट्र विभागका प्रमुख थिए। सभापति देउवाले नै उनलाई विभाग प्रमुख बनाएका थिए।

खड्का अनुकूलता हेरेर गुट परिवर्तन गर्ने नेताका रूपमा कांग्रेसभित्र आलोचना हुने गर्छ।

‘उहाँ पहिले किसुनजीतिर, त्यसपछि देउवा, सुशील कोइराला हुँदै पौडेल र फेरि देउवातिर लाग्नुभएको छ,’ कांग्रेसका ती नेता भन्छन्, ‘संगठन विस्तारमा मन लगाएर काम नगर्ने र फाइदा हेरेर गुट फेर्नुहुन्छ।’

गठबन्धन र पार्टीभित्रैका अरू आकांक्षीलाई उछिनेर ७३ वर्षीय खड्का परराष्ट्र मन्त्री बनेका छन्। खड्का चुनौतीपूर्ण अवस्थामा परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका छन्।

अहिलेको अवस्था दुई विशाल छिमेकी भारत र चीनसँगको सम्बन्ध र विश्व परिवेशमा नेपालले कूटनीतिक कौशलता देखाउनु पर्नेछ। त्यो कूटनीतिक कौशलता खड्काले कसरी देखाउँछन् आगामी दिनेले देखाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *