उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

देश

यस वर्ष दशैं मनाउन काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साह पनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका छन् । यस दिन उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या १० हजार ५०० बढी छ ।

महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले मानिसमा कोरोना महामारीको त्रास बाँकी नै रहेकाले अघिल्ला वर्षको तुलनामा यस वर्ष दशैं मनाउन घर फर्कने यात्रु कम रहेको बताए । उनका अनुसार असोज १४ गते पनि उपत्यका बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या धेरै थियो ।

सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ ।

आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published.