नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्।
बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए। बैठकको सुरुमै उपाध्यक्ष ज्ञवालीले पार्टीभित्र देखिएका विवाद समाधान गर्न बनेको कार्यदललाई व्यक्तिविशेषसँग जोड्नु गलत भएको भन्दै पार्टीमा यसले कालान्तरमा समस्या जन्माउने बताएका थिए।