मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
आईपिओमा कुल २३ लाख ९० हजार २ सय १८ जनाको आवेदन परेकोमा ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६ जना रहेको क्यापिटलले जनाएको छ ।