राष्ट्रिय जनगणना आज बाट सुरु

देश

मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ। प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो।

‘अहिलेको जनगणनामा सहभागी भएनौं भने हामी राष्ट्रिय तथ्यांकमा छुट्छौं’,विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले भने।कोही पनि नागरिक जनगणनामा नछुटून् भन्नेतर्फ विभाग सचेत रहेको उनले बताए।जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिएर जनगणना उट्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। जनगणना सुरु भएकै दिन उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको विवरण संकलन गर्ने कार्यक्रम छ।

मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि सबै तयारी पूरा भइसकेको विभागले जनाएको छ। विभागका अनुसार जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ।

यस्तै धेरै जनसंख्या भएका जिल्लामा एकभन्दा बढी जनगणना कार्यालय खोलिएको छ भने काठमाडौं जिल्लामा ५ वटा जनगणना कार्यालय स्थापना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *