सर्वाेच्च अदालतमा आज शुक्रबार पनि तनाव भएको छ।
अदालतको मूल गेटमा कानुन व्यवसायीहरूले धर्ना दिने क्रममा आफूलाई सामाजिक अभियन्ता बताउनेहरुले विराेध गरेपछि तनाव भएकाे हाे।
यस क्रममा अभियन्ता दाबी गर्ने तारा बराललगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनको नेतृत्वमा आज (शुक्रबार) अधिवक्ताहरूले सर्वाेच्च अदालतको मूल गेटमै धर्ना दिइरहेका हुन्।
बिहीबार शान्तिपूर्ण आन्दोलनमा हतियारधारी प्रहरीबाट बल प्रयोग भएपछि आक्रोशित उनीहरूले आजदेखि विरोधलाई थप शसक्त पारेका हुन्।
यसअघि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीहरू आज अदालतको मुख्य प्रवेश द्वारमै धर्ना बसेका हुन्।
तर एउटा समूह भने वकिलहरूको आन्दाेलनकाे विराेधमा चाहिँ उत्रिएकाे हाे।
हिजो बिहीबार विरोध प्रदर्शनका क्रममा प्रहरीले धरपकड गर्दा ६ जना कानुन व्यवसायी घाइते भएका छन्। अदालत परिसरभित्रै झडपको स्थिति सिर्जना भएपछि बिहीबारदेखि त्यहाँ नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि खटाइएको छ।
वर्तमान सरकारमा प्रधानन्यायाधीश जबराले पनि ‘भाग’ खोजेको खबर सार्वजनिक भएपछि नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायी निरन्तर आन्दोलनमा छन् भने सर्वाेच्च अदालतकै न्यायाधीशहरूले पनि इजलास बहिष्कार गरिरहेका छन्। प्रधानन्यायाधीश जबराविरुद्ध न्यायालयमा भ्रष्टाचार, बेथिति व्याप्त गराएको आरोप लागेको छ।