सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ ।
अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर एक गते विशेष समारोहका बीच ई-पासपोर्टको वितरण शुरु हुनेछ । विभागले कोबाट यसको शुरुआत गराउने भन्ने सार्वजनिक गरेको छैन ।
‘शुरुआतका केही दिन हामी दैनिक सीमित मात्रै ई-पासपोर्ट वितरण गर्छौं,’ प्रवक्ता आरनले भने,’पूर्ण रुपमा ई-पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण पनि गरिरहन्छौं ।’
विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना छ । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।
कस्तो हुन्छ पासपोर्ट ?
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार नेपालको ई-पासपोर्टमा ६४ वटा पृष्ठहरु हनेछन् । सरकारले ती पृष्ठहरुमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो राखेको छ । ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहने गरी निर्णय भएको थियो ।
पहिलो पृष्ठमा सगमाथा रहनेछ । दोस्रो पेजमा पोलिकार्बोनेट डाटा पेज हुनेछ । तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौंमा एक सिंगे गैँडा, आठौं र नवौंमा चाँगुनारायण मन्दिर, दशौं र एघारौंमा इलामको चिया बगान र बाहौं र तेह्रौंमा लालीगुँरासको तस्वीर रहनेछ । चौधौं र पन्”ौंमा पशुपतिनाथ मन्दिर, सोह्रौं र सत्रौंमा मिथिला आर्ट, अठारौं र उन्नाइसौंमा धान रोपाइँका तस्वीर रहनेछन् ।
२० र २१औंमा कुमारी, २२ र २३औंमा माथिल्लो मुस्ताङ, २४ र २५औंमा बाघ, २६ र २७औंमा जुम्लाको सिंजा उपत्यका, २८ र २९औंमा देशय् मरू झ्या, ३० र ३१औंमा जानकी मन्दिर, ३२ र ३३औंमा करुवा, ३४ र ३५ औंमा हात्ती, ३६ र ३७औंमा रानीपोखरी र ३८ र ३९औंमा हनुमानढोका दरबारका फोटो रहरनेछन् ।
४० र ४१ औं पृष्ठमा धरहरा, ४२ र ४३औंमा भुर्तिका देवल,४४ र ४५औंमा पाटन दरबार क्षेत्र, ४६ र ४७औंमा पुतली, ४८ र ४९ औंमा बौद्धनाथ, ५० र ५१औंमा भक्तपुर दरबार क्षेत्र, ५२ र ५३ औंमा महाकाली पुल, ५४ र ५५औंमा कृष्णसार, ५६ र ५७मा ट्रकिङ (सगरमाथाको लुबुचे जाने क्षेत्र), ५८ र ५९औंमा रानीमहल, ६० र ६१ औंमा रारा ताल, ६२ र ६३औंमा माथिल्लो तामाकोशी र ६४ औंमा सिंहदरबारको तस्वीर रहनेछ ।
तिलिचो ताल, सेफोक्सुन्डो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायासहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइनलाई वैकल्पिक तस्वीरका रुपमा रोजिएको थियो ।