प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरू के भन्छन ?

देश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले आफूहरू नथाकेको बताएका छन्। उनीहरूले प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए।

मंगलबारको प्रदर्शनका क्रममा वरिष्ठ अधिवक्ता सविता बरालले आफूहरूका कारण नभइ प्रधानन्यायाधीशका कारण न्यायमा अवरोध भइरहेको पनि बताइन्।

नेपाल बारले न्यायालय शुद्धीकरणको अभियान थालेको उनले बताइन्। उनले गृहमन्त्री बालकृष्ण खाणको भनाइप्रति आपत्ति समेत जनाइन्।

‘गृहमन्त्रीले बारको आन्दोलनमा वाईसीएल घुसेका छन् भन्नुभयो भन्ने सुनियो। कृष्णप्रसाद भण्डारी, दमननाथ ढुङ्गाना र कमल कोइराला वाईसीएल हुन्?’, उनले प्रश्न गरिन्।

वरिष्ठ अधिवक्ता गुणनिनि न्यौपानेले जनताको भरोसा जित्न नसक्ने न्यायालयको काम नरहेको टिप्पणी गरे। उनले नागरिकले प्रधानन्यायाधीश राणालाई बर्खास्त गरिसकेको बताए।

‘मन लागेको मानिसलाई मुद्दा तोक्ने काम गर्नु भएको छ। उहाँले कानुन व्यवसायी र न्यायाधीश मात्र नभई समग्र जनताको विश्वास गुमाउनु भएको छ। यो भ्रष्टाचार लुकाउने अर्को प्रयास हो। उहाँलाई जनताले बर्खास्त गरिसकेका छन्’, न्यौपानेले भने।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले तेस्रो चरणको आन्दोलन पनि घोषणा गर्ने बताए। मंगलबार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन भएको स्मरण गर्दै उनले प्रधानन्यायाधीश राणाले कुनै हालतमा राजीनामा दिनुपर्ने माग राखे।

‘चोलेन्द्रले बिचौलियाको नेतृत्व गरेका छन्। तेस्रो चरणको आन्दोलन पनि हामी घोषणा गर्छौं। बारले प्रधानन्यायाधीशको भ्रष्टाचार सार्वजनिक गर्न माग गरेको छ। उहाँले तत्काल राजीनामा दिनुपर्छ। यसको विकल्प छैन’, श्रेष्ठले भने।

उनले अझ सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *