नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको बिशेष संरक्षणमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले लुट धन्दा मच्चाएको रहस्य सार्वजनिक भएको छ । कुमारी बैंकमा गायक यागेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको छ ।
अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएसंगै यसमा बैंकका निमित्त प्रमुख कार्यकारी तिमिल्सिना पनि मुछिएका हुन । आफ्नो नाउँमा रहेको जग्गाको नक्कली धनीपुर्जा बनाएर ऋण प्रवाह भएको जानकारी पाएपछि गायक अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका थिए । त्यसअनुसार सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि पाँच जनालाई सिआईबीले पक्राउ गरिसकेको छ ।
सिआईबीका अनुसार पक्राउ पर्नेहरुमा कुमारी बैंकको ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान रहेका छन । सिआईबीका अनुसार बयानमा पक्राउ परेका व्यक्तिहरुले बिचौलिया प्रधानका कारण आफुहरु फसेको बताएका छन ।
१९ करोड रुपैयाँ कर्जा प्रवाह भएको यो घटनामा बैंकका उच्च व्यवस्थापन तहका कर्मचारीहरु त्यसमाथि पनि निमित्त प्रमुख कार्यकारी अधिकृत तिमिल्सीनाको हात रहेको दावी श्रोतले गरेको छ । तर सिआईबीले भने साना कर्मचारीहरुलाई मात्र पक्राउ गरेर ठुलालाई जोगाउन खोजेको आरोप पनि श्रोतले लगाएको छ । तीन घुम्टीमा प्रकाशित समाचार अनुसार सीआईबीले यो घटनामा बैंकिङ कसुरको मुद्दा चलाउन सक्ने भए पनि जग्गा किर्ते मुद्दामा मात्र अनुसन्धान थालेको र हालसम्म यो घटनामा पाँच जना पक्राउ गरेको छ । श्रोतका अनुसार यो कर्जा प्रकरणमा ऋणी र बैंकबिच समन्वय गर्ने कार्य बिचौलिया प्रधानले गरेका थिए । यो प्रकरणमा प्रधान पनि पक्राउ परेका छन ।
यसरी भएको थियो घटना
स्रोतका अनुसार महर्जन र गौतमले पहिले कुमारी बैंकको न्युरोड शाखामा ऋणका लागि निवेदन दिएका थिए । त्यसपछि बैंकले जग्गा मूल्यांकनका लागि वीरगन्ज शाखालाई पत्राचार गरेको थियो । त्यहाँबाट धितो मूल्यांकन गर्ने र नक्कली कागजातमा हस्ताक्षर गरेको आधारमा ठाकुरलाई पक्राउ गरेको हो । तर यति ठूलो रकम कर्जा प्रवाह हुँदा यसको जानकारी बैंकको केन्द्रीय कार्यालयलाई गराइएको थियो ।
बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले नै लोन पासका लागि हस्ताक्षर गरेको प्रहरी स्रोतको भनाइ छ । तर, ब्युरोले भने यसमा वीरगन्ज शाखाका कर्मचारी ठाकुरलाई मात्र कारबाही गरेर बैंकका ठूला पदाधिकारीलाई उन्मुक्ति दिने तयारी गरेको दावी श्रोतले गरेको छ । श्रोतका अनुसार बिचौलिया रहेका प्रधानले कर्जाका लागि बैंकका उच्च कर्मचारीलाई प्रभावमा पारेको र कर्जा मिलाइए बापत करिब ६० लाख रुपैयाँ रकम दावी गरेको छ । कर्जा प्रवाह गर्ने क्रममा आधारभूत प्रक्रियासमेत पूरा नगरेको देखिएको छ ।