तरकारी र फलफूलको मूल्य छोइ नसक्नु !

खास खबर

तरकारी र फलफूलको मूल्य छोइ नसक्नु भएको छ । ३ महिनाको अवधिमा तरकारीको भाउ हेर्ने हो भने अधिकांशको भाउ बढेको छ भने सीमित तरकारीहरुको मूल्य सामान्य घटेको देखिन्छ ।

गत भदौ ७ गते औसतमा प्रतिकेजी ५३ रुपैयाँमा पाइने रातो आलु अहिले ५७ रुपैयाँ पुगेको छ । भारतीय रातो आलु २९ रुपैयाँबाट बढेर प्रतिकेजी ३१ रुपैयाँ र सेतो आलु ४० रुपैयाँबाट बढेर प्रतिकेजी आलु अहिले ४७ रुपैयाँ पुगेको छ ।

भान्सामा धेरै खपत हुने गोलभेडा पनि हो । गत भदौमा प्रतिकेजी ५५ रुपैयाँ रहेको ठूलो गोलभेडाको मूल्य अहिले बढेर १३५ रुपैयाँ पुगेको छ भने प्रतिकेजी १९ रुपैयाँ पर्ने टनेलको गोलभेडाको मूल्य बढेर अहिले १०५ रुपैयाँ र प्रतिकेजी १४ रुपैयाँ मूल्य रहेको लोकल सानो गोलभेडाको मूल्य अहिले ९० रुपैयाँ पुगेको छ ।

गत भदौमा ५५ रुपैयाँ रहेको लोकल घिउ सिमी र हाइब्रिड घिउसिमीको मूल्य बढेर अहिले ११० रुपैयाँ र १०५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, २२ रुपैयाँ रहेको घिरौलाको मूल्य अहिले ८५ रुपैयाँ, १९ रुपैयाँ रहेको चिचिण्डो ५५ रुपैयाँ, २२ रुपैयाँ रहेको तितो करेला १०५ रुपैयाँ पुगेको छ ।

साथै, ४६ रुपैयाँ रहेको भारतीय प्याजको मूल्य ५१ रुपैयाँ, ३५ रुपैयाँ रहेको तने बोडीको मूल्य ७५ रुपैयाँ, ३५ रुपैयाँ रहेको डल्लो भन्टाको अहिले ५५ रुपैयाँ र भदौमा भन्दा लाम्चो र भिण्डीको प्रतिकेजी २५ रुपैयाँ रहेकामा अहिले ५५ रुपैयाँ र ९५ रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी, ३५ रुपैयाँ रहेको रातो मुला अहिले ५५ रुपैयाँ, १७ रुपैयाँ रहेको सेतो मूला अहिले ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन २०५ रहेकोमा अहिले २२५ रुपैयाँ, १५५ रुपैयाँ रहेको सुकेको नेपाली लसुन अहिले १८५ रुपैयाँ र २२ रुपैयाँ रहेको लौकाको मूल्य ४५ रुपैयाँ पुगेको छ । साथै भदौमा औसम मूल्य प्रति केजी १ हजार ५० रुपैयाँ रहेको कुरिलो अहिले २६ सय ५० रुपैयाँ पुगेको छ ।

तरकारीको मात्रै नभएर फलफूलको मूल्य पनि अत्यधिक बढेको छ । गत भदौ ७ गते २३५ रहेको फूजी स्याउ अहिले २९० रुपैयाँ पुगेको छ भने ७५ रुपैयाँ पर्ने एक केजी मेवाको मूल्य ८५ रुपैयाँ पुगेको छ । साथै, १३५ रुपैयाँ पर्ने मौसम अहिले १४५ रुपैयाँ र २२५ रुपैयाँ रहेको चाइनिज नासपाति अहिले २३५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *