नारायणी नदी तटमा एमालेको १०औं महाधिवेशन आजदेखि शुरु

देश

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ ।  १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ ।

एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् ।

महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ ।  बन्दसत्र सौराहामा हुनेछ ।

महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *