नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ ।
सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा क्वरेण्टीन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो।