बारका प्रतिनिधिलाई ओलीले भनेः चोलेन्द्रलाई हटाउँदैमा न्यायालय सच्चिँदैन

देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायपालिका ध्वस्त भएको बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा बोल्दै अध्यक्ष ओलीले न्यायपालिका अहिले स्वच्छ र निष्पक्ष नरहेको बताएका हुन्।

उनले भने, ‘न्यायालय स्वच्छ र निष्पक्ष रहनुपर्छ। तर अहिले न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो। न्यायपालिका मर्यादामा अड्न सकेन। अहिले न्याय ध्वस्त भएको छ।’

आफूले अहिले नै न्यायालय सच्याउन सक्ने अवस्था नदेखेको उनले बताए। न्यायालय सँगसँगै दलहरु, न्यायाधीश र अधिवक्ताहरु पनि सच्चिनुपर्ने उनले बताए।

उनले भने, ‘अहिले नै न्यायालय सच्याउन सक्ने अवस्था मैले देखेको छैन। तपाईं हामी नै पनि कति तयार छौँ भन्ने छ। राजनीतिक पार्टी पनि सच्चिनु आवश्यक छ। न्यायाधीश पनि सच्चिनु पर्नेछ। र अधिवक्ताहरु पनि सच्चिनु पर्नेछ।’

चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशबाट हटाउँदैमा न्यायालय नसच्चिने उनको भनाइ छ। उनले भने, ‘चोलेन्द्रलाई हटाउँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन। त्यो सुरुवात होइन। त्यो अन्त्य हुन्छ।’

छलफलका क्रममा अध्यक्ष ओलीले बारका प्रतिनिधिहरुप्रति पनि कटाक्ष गरेका थिए। अधिवक्ताहरुको शैलीप्रति उनले असन्तुष्टि जनाएका थिए।

ओलीले भने,’तपाईंहरु सबै वरिष्ठ अधिवक्ता हुनुहुन्छ। विद्धान हुनुहुन्छ। तपाईंहरुको शैली पनि विद्वानको जस्तै हुनुपर्छ। कहिलेकाहीँ अलि फरक परिदृश्य पनि देखिएको छ।’

अदालतको स्वच्छताबारे बारले उठाएका कुरामा आफू आंशिक रुपमा सहमत भए पनि बारले उठाएका मुद्दा पूर्ण नभएको उनले टिप्पणी गरेका थिए।

अहिलेको अवस्थामा जसले पैसा खर्च गरेर किन्न सक्छ उसले मात्रै न्याय पाउने अवस्था देखिएको ओलीले बताए।

Leave a Reply

Your email address will not be published.