साझा उम्मेद्वार खडा गर्न संस्थापन इतरका शीर्ष नेताहरु आज पनि छलफलमा

देश

आसन्न १४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाउन कांग्रेसमा इतर समूहको केन्द्रीय समिति सदस्यहरुसहितको बैठक चाक्सीबारीमा सुरु भएको छ।

मंगलबार दिनभर त्यहीँ बसेको बैठकले नेतृत्वको टुंगो लगाउन नसकेको अवस्थामा सभापतिका दावेदार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा उक्त बैठक सुरु भएको हो।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालासहित सहभागी छन्। त्यसैगरी बैठकमा डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादव पनि उपस्थित छन्।

यो बैठकमा पनि पार्टीको महाधिवेशनमा इतर समूहबाट सभापतिको साझा उमेदवार तय गर्न छलफल हुने बताइएको छ।

यसअघि मंगलबारै चाक्सीबारी र सोमबार बोहोराटारस्थित पौडेल निवासमा बसेको संस्थापन इतर पक्षको बैठकबाट पनि सहमति जुट्न सकेको थिएन।

यो बैठक चलिरहँदा इतर समूहका निवर्तमान जिल्ला सभापति र हालसालै निर्वाचित जिल्ला सभापतिहरु पनि सिंह निवास बाहिर बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *