प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) का लागि बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उक्त बैठकमा आफूहरुको सहभागिता नहुने बताएका छन्।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूहरुले कारबाही गरेका माधवकुमार नेपालको पनि सहभागिता हुने भएपछि एमालेले बहिष्कार गर्ने निर्णय लिएको हो।
गत भदौ २३ गतेदेखि एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ। यस्तो अवस्थामा संसदमा लगातार जारी अवरोध र अमेरिकी परियोजना एमसीसीसहितका विषयमा छलफलका लागि देउवाले सर्वदलीय बोलाएका हुन्।
महासचिव पोखरेलले भने, ‘हामीले स्वीकार नगरेको दलको उपस्थिति त्यहाँ हुन्छ भने हामी सर्वदलीय बैठकमा जाँदैनौँ।’
महासचिव पोखरेलले दलहरुबीच हुने दुई पक्षीय वार्ता र छलफलमा भने आफ्नो पार्टीले सहभागिता जनाउने पनि जानकारी दिएका छन्।
‘हामी दुई पार्टीबीच हुने छलफल तथा संसदमा मान्यता पाएका दलहरूसंग छलफल गर्न तयार छौँ,’ उनले थपे, ‘तर हामी हामीले दलको हैसियतका रुपमा नस्वीकारेको पार्टी उपस्थित हुने बैठकमा सहभागी हुन सक्दैनौँ। को को सहभागी हुन्छन् भनेर प्रधानमन्त्रीलाई सोध्छौँ, यदि त्यस पार्टी सहभागी भए हामी सर्वदलीय बैठकमा सहभागी हुँदैनौँ।’
एमालेले निरन्तर गरिरहेको संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन्।
बैठकमा सहभागिताका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधिसभाका हरेक बैठकमा अवरोध र विरोध गरिरहेको छ। उसले राष्ट्रियसभामा पनि सभामुख अग्नि सापकोटाको कदमको विरोध गर्दै आएको छ।
स्रोतका अनुसार एमालेको अवरोधकै कारण केही महत्त्वपूर्ण विधेयक र अध्यादेश संसदमा पेस हुन पाएको छैन। यसैगरी एमसीसीको विषय पनि संसदमा टेबल हुन पाएको छैन।