हिजोका ‘शक्तिशाली’ विजयकुमार : राजनीतिमा सबैभन्दा कमजोर बन्दै !

खास खबर

आफू नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)लाई नेपाली कांग्रेसमा विलय गराएर राजनीति थालेका विजयकुमार गच्छदारका लागि पछिल्ला वर्ष सहज रहेनन् ।

ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा सारिएको प्रकरणमा मुछिएसँगै शुरु भएको उनको ओरालो यात्रालाई कांग्रेसको १४ औं महाधिवेशनले अझ भिरतर्फ लगेको छ ।

उपसभापतिमा उम्मेदवारी दिएका गच्छदार आफूभन्दा एक दशक पछाडि राजनीतिमा आएका धनराज गुरुङसँग २ मतान्तरले पराजित भए ।

पूर्णबहादुर खड्का २,१२१ मतसहित उपसभापतिमा चुनिँदा देउवा प्यानलबाटै उम्मेदवार बनेका गच्छदारले १,९०६ मत पाए ।

शेखर कोइराला प्यानका धनराज १,९०८ मतका साथ उपसभापतिमा निर्वाचित भएका छन् ।

गच्छदारको राजनीतिक यात्रा कसरी सुरु भयो ?

गच्छदार काँग्रेसका पुराना नेता हुन् । २०२७ सालदेखि लगातार काँग्रेस पार्टीमा लागेका गच्छदार सो पार्टीमा क्रान्तकारी नेताको रूपमा चिनिन्थे । उनी पार्टीमा जति क्रान्तकारी थिए त्यति नै खरो पनि ।

उनी गिरिजाप्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवासामु कडा मिजासका रूपमा प्रस्तुत हुन्थे । यसै कारण उनी कसैको विश्वासको पात्र बन्न सकेनन् भने कहीँ पनि स्थिर भएर बसेनन् । त्यति हुँदाहुँदै पनि उनी पार्टीमा पावरमै हुन्थे ।

२०२७ सालमा उनी महेन्द्र मोरङ कलेजका विद्यार्थी नेता थिए । नेविसङ्घको प्रमुख व्यक्तिका रूपमा परिचित गच्छदारले त्यतिबेला तत्कालीन काँग्रेस नेता हरि न्यौपानेका साथमा राजनीति गरेका थिए ।

२०३१ सालमा विमान अपहरण हुँदा त्यसमा मुछिएका विजयकुमार गच्छदार भारतमा भूमिगत नै हुनुपरेको थियो । विमान अपरहणसँगै उनीमाथि विभिन्न आरोप लगाएर नेपाल प्रहरीले वान्टेडमा राखेको थियो ।

२०३६ सालमा भएको जनमत सङ्ग्रहमा भाग लिन उनी पुनः नेपाल आए । नेपाल आएपछि उनी सङ्गठनको नाममा सक्रिय भए । त्यतिबेला उनी मोरङ र सुनसरीमा चर्चित युवा नेता थिए ।

उनले २०३८ सालमा पुनः मोरङ कलेज भर्ना भए । भर्ना भएको केही दिन नबित्दै २०३९ सालमा त्यहाँ गोली काण्ड भयो । सो गोली काण्डमा फणिन्द्र तिम्सिनाको मृत्यु भएको थियो सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गर्यो र उनीमाथि ज्यान मुद्दा चलायो । उनी २०४२ सालमा जेलबाट रिहा भए । जेलबाट रिहा भएपछि पार्टीको काममा पुनः सक्रिय भएर राजनीतिमा लागे ।

जिल्ला पञ्चायतको चुनावमा सुनसरीमा गच्छदारले होमबहादुर श्रेष्ठका छोरा रमेश श्रेष्ठविरुद्धमा चुनाव लडेका थिए तर चुनाव हारे । २०४६ को परिवर्तनपछि २०४८ मा भएको संसदीय चुनावमा भने उनी विजयी भएका थिए । त्यसपछि उनी लगातार संसद रहँदै आएका छन् । संसद भएसँगै उनी जिल्लाको राजनीतिभन्दा उनी केन्द्रीय राजनीतिमा हाबी हुँदै गए ।

काँग्रेस विभाजनपछि कता लागे ?

२०५९ सालमा काँग्रेस विभाजित हुँदा उनी देउवाले गठन गरेको काँग्रेस (प्रजातान्त्रिक) तिर लागेका थिए । सो पार्टीमा गच्छदारलाई महामन्त्रीको जिम्मेवारी दिइएको थियो । तर केही दिनपछि नै देउवा र गच्छदारबीच खटपट सुरु भयो ।

दुई काँग्रेस एक भएपछि पनि उनी काँग्रेसमा फिट भएनन् । उनलाई न गिरिजाप्रसाद कोइरालाको आशीर्वाद प्राप्त भयो न देउवाकै । दुवै नेताले गच्छदारलाई शङ्काका दृष्टिले हेर्न थालेका थिए । त्यतिबेलादेखि नै काँग्रेस र गच्छदारको दूरी बढ्न थालेको थियो ।

त्यतिबेला गच्छदारले काँग्रेसमा मधेस तथा थारुका मुद्दा बढी उठाउँथे । नागरिकता लगायत विषयमा जोडदारका साथ काँग्रेसभित्र कुरा उठाउँथे । काँग्रेसमा मधेस मुद्दामा गच्छदार विमलेन्द्र निधिभन्दा पनि स्पष्ट थिए ।

फोरम नेपालमा प्रवेश कसरी भयो ?

२०६२/०६३ को परिवर्तनपछि पनि काँग्रेसले गच्छदारलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेन । २०६४ सालको संविधानसभा चुनावमा उनलाई काँग्रेसभित्र उनलाई किनारा लगाउने काम भयो । गच्छदारले सिफारिस गरेका नेतामध्ये कसैलाई टिकट नदिनु, उनले रोजेको क्षेत्रभन्दा फरक क्षेत्रबाट टिकट दिनु जस्ता विषयका कारण काँग्रेससँग गच्छदारको दूरी बढ्यो । अन्ततः उनी तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा सक्रिय रहेका जेपी गुप्ताको सम्पर्कमा गए ।

गुप्तामार्फत उनी उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरे । चुनावका लागि उम्मेदवार मनोनयन हुनुभन्दा १२–१३ दिन पहिले उनी फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपालबाट टिकट लिएर सुनसरीबाट संविधानसभा चुनाव पनि जिते ।

फोरम नेपालमा उनी उपेन्द्र यादवलाई अध्यक्ष मानेर उपनेतामा चित्त बुझाएका थिए । पहिलो संविधान सभा गठन भएलगत्तै २०६५ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेका सरकारमा मन्त्री बने ।

के हो कटवाल काण्ड ?

प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा उपेन्द्र यादव र गच्छदार सँगै सहभागी भएका थिए । तर, कटवाल काण्डपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो । त्यसपछि एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार निर्माण हुन लागेको थियो । उक्त सरकारमा सहभागी हुने–नहुने विषयमा उपेन्द्र यादव र गच्छदारको बीचमा लफडा सुरु भयो ।

उपेन्द्र यादवले पुनः प्रचण्डकै नेतृत्वमा सरकारमा सहभागी हुनुपर्छ, प्रचण्डलाई नै सहयोग गर्नुपर्छ भन्ने पक्षमा थिए भने गच्छदार माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्नुपर्छ भने पक्षमा थिए । अन्ततः कुरा नमिलेपछि उनले पार्टी फुटाएर माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागी भए । २०६६ जेठमा ५२ जना सभासदमध्ये ३२ जना लिएर पार्टी फुटाएर मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक बनाएका थिए । नेपाली काँग्रेसबाट विद्रोह गरी २०६४ सालमा फोरम नेपालमा प्रवेश गरेका गच्छदारले मुस्किलले दुई वर्ष अध्यक्ष उपेन्द्र यादवसँग बसे ।

माधवकुमार नेपाल नेतृत्वमा बनेको सरकारमा उनी भौतिक योजना तथा निर्माण मन्त्री बनेका थिए । माधव नेपाल नेतृत्वको सरकार ढलेपछि झलनाथ खनालको नेतृत्वमा सरकार निर्माण भएको थियो । त्यसमा उपेन्द्र यादव सहभागी भए तर गच्छदार सहभागी भएनन् । सरकारमा सहभागी नभएका उनी राजेन्द्र महतो, महन्थ ठाकुर रहेको मधेसी मोर्चामा सहभागी भए, जुन मोर्चाबाट उपेन्द्र यादव निस्केका थिए ।

उपप्रधानमन्त्री कसरी भए ?

झलनाथ खनाल नेतृत्वको सरकार ढलेपछि डा. बाबुराम भट्टराइको नेतृत्वमा सरकार गठन भएको थियो, त्यसमा विजयकुमार गच्छदार उपप्रधान तथा गृहमन्त्री भएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकार गठन गर्न जेपी गुप्ता र विजयकुमार गच्छदारले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

२०७० मा दोस्रो चरणको संविधान सभा चुनाव सम्पन्न भयो । चुनावपछि गच्छदारको तत्कालीन पार्टी मधेसमा पहिलो पार्टीका रूपमा उदायो र संसदमा पाँचौँ ठूलो पार्टीको रूपमा आयो । त्यसपछि गच्छदारको शक्ति झन् बढ्यो । गच्छदारको पार्टीभन्दा उपेन्द्र यादव नेतृत्वको पार्टी कमजोर भयो ।

छोटो समयमा मधेसमा शक्तिशाली पार्टीका रूपमा उदाए पनि दोस्रो संविधानसभापछि बनेको सुशील कोइराला नेतृत्वको सरकारमा उनलाई समावेश गराइएन । त्यसले गर्दा उनी निकै रुष्ट बने । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको ३३ दलीय गठबन्धनमा सहभागी भएर सरकार विरुद्धमा आन्दोलन नै चर्काए ।

गठबन्धनमा सहभागी भएपछि गच्छदार मधेसवादी दल निकट हुन थाले । मधेसी नेताहरूसँग मिलेर उनले मधेसी मोर्चालाई पुनर्गठन गरे । तर, मोर्चा गठन गरेलगत्तै उनी सुशील कोइराला नेतृत्वको सरकार ढाल्न एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलो चाहार्न थाले ।

मोर्चाका अन्य नेताहरूलाई बोकर बालकोट धाउन थालेका गच्छदारको वास्तविक नियत मधेसी नेताले थाहा पाए ।सबैभन्दा पहिले उपेन्द्र यादवले ओली निवास जान छाडे । त्यसपछि अन्य नेताहरूले पनि विस्तारै यादवकै पदचाप पछ्याए ।

यता संविधान निर्माणको प्रक्रिया पनि सुरु भइसकेको थियो । गठबन्धन आन्दोलनमा रहेको बेला तत्कालिन एमाले र काँग्रेस मिलेर संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाइरहेका थिए ।

१६ बुँदे सम्झौतामा उनको भूमिका ?

संविधान अधिकार सम्पन्न हुनुपर्छ भन्दै तत्कालिन माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठबन्धनको आन्दोलन जारी थियो । तर आन्दोलन बीचैमा छाडेर प्रचण्ड र गच्छदारले १६ बुँदे सम्झौता गरी संविधान निर्माणका लागि तयार भए । त्यो १६ बुँदे सम्झौता गराउनमा गच्छदारको मुख्य भूमिका थियो ।

१६ बुँदे सम्झौतामा सहभागी भएपछि मधेसी मोर्चाले गच्छदारलाई कारबाही गरी मोर्चाबाट निष्कासन गर्यो । उनी निष्कासित भएपछि कहिले शरतसिंह भण्डरीसँग त कहिले राजकिशोर यादव त कहिले अनिल झासँग मोर्चा बनाउँदै हिँडे । उनी त्यसबेला न सरकारमा थिए न मधेसी मोर्चामा । शक्तिहीन बनेका गच्छदार छटपटीमा थिए । यता, मधेस आन्दोलन सुरु भइसकेको थियो ।

पुनः उपप्रधान तथा भौतिक/स्थानीय मन्त्री कसरी पाए ?

संविधान घोषणा भएपछि ओली नेतृत्वमा गठन भएको सरकारमा गच्छदार सहभागी भए । ओलीको नेतृत्वमा सरकार गठन हुँदा मधेसी मोर्चाका नेताहरूले सुशील कोइरालाको पक्षमा मतदान गरेका थिए भने गच्छदार ओलीलाई मतदान गरेर सरकारमा गएका थिए ।

सरकारमा सहभागी भएपछि उनको पार्टीमा तीव्र असन्तुष्टि देखियो । थुप्रै नेताहरू पार्टी छाडेर हिँडे । मधेसमा भीषण आन्दोलन भइरहँदा गच्छदार ओली नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक योजना मन्त्री थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । सो सरकारमा सहभागी हुन पनि गच्छदार तयार थिए । तर मधेसी मोर्चाको दबाबका कारण प्रचण्डले उनलाई सरकारमा सहभागी गराएनन् ।

तर, जब संविधान संशोधनको विवाद सुरु भयो, सरकारलाई दुई तिहाइ पुर्याउने आवश्यकता महसुस भयो । त्यसपछि मधेसी मोर्चाकै सल्लाहमा विजयकुमार गच्छदार प्रचण्ड नेतृत्वको सरकारमा अन्तिम समयमा सहभागी भए । गच्छदारको शर्त थियो, प्रचण्डपछि शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पनि सहभागी हुन पाउनुपर्छ । प्रचण्डपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनी उपप्रधान तथा स्थानीय विकास मन्त्री भए ।

काँग्रेसमा कसरी फर्किए ?

स्थानीय तहको चुनाव फोरम लोकतान्त्रिकबाट चुनाव लडेका गच्छदारले पुनः काँग्रेस फर्कने निर्णय लिए । उनको यस निर्णयबाट पार्टीका धेरै नेता असन्तुष्ट बने । प्रतिनिधिसभा चुनावमा आफ्नो समूहबाट आफूबाहेक अरु कसैले चुनाव जित्न सकेनन् । समानुपातिकबाट पनि कसैलाई सांसद बनाउन सकेनन् । जितेन्द्र देव मात्र राष्ट्रियसभा सदस्य बने ।

आफू नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)लाई कांग्रेसमा विलय गराएर राजनीति थालेका गच्छदारका लागि पछिल्ला वर्ष निकै सकसपूर्ण रहेको तथ्यबाटै देखिन्छ । कांग्रेस फर्किएपछि सत्ताबाट टाढा पुगेका गच्छदार १४ औं महाधिवेशनबाट पार्टी पदाधिकारी पनि रहेनन् ।

अब उनको राजनीति यात्रा सकिएकै हो भन्नेहरु छन भने कतिपयले हारबाट शिक्षा सिकेर उनी झन् डटेल लाग्ने कतिपयको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published.