लुम्बिनी प्रदेशका ‘पाका’ भनिएका नेताहरु नै कांग्रेसको महाधिवेशनमा पराजीत

खास खबर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका ‘पाका’ भनिएका नेता पराजित भएका छन्। उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिएका लुम्बिनीका भनिएका ‘पाका’नेता पराजित भएका हुन्।

रुपन्देहीबासी गृहमन्त्री बालकृष्ण खाँण खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित विजयी हुँदै गर्दा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दाङका सुरेन्द्र हमाल केन्द्रीय सदस्यमा पराजित भए। संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनले १२०३ मत मात्र पाए।

उपसभापतिमा इतर समूहबाट गुल्मीका चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा संस्थापन समूहबाट उम्मेदवार बनेका अर्घाखाँचीका मानबहादुर विक विजयी हुन सकेनन्।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र प्रसाद कनौडियाले पनि केन्द्रीय सदस्य जित्न सकेनन्। लुम्बिनीको सत्तारुढ गठबन्धनको हुनेवाला मुख्यमन्त्रीसमेत रहेका उनी संस्थापनतर्फबाटै उम्मेदवार बनेका थिए। खुला सदस्यमा उम्मेदवारी दिएका उनले १५१९ मत ल्याए।

यस्तै पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल, पाल्पाका पुराना नेता हरि नेपाल, गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले केन्द्रीय सदस्य जित्न सकेनन्।

दाङका दीपक गिरी, बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्यूठानका डा. गोविन्दराज पोखरेल र कृष्णकिशोर घिमिरे केन्द्रीय सदस्य बनेका छन्।

कांग्रेस पदाधिकारीमा लुम्बिनीबाट एकजनामात्रै निर्वाचित भए। बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका हुन्। समावेशीतर्फ उम्मेदवारी दिएका केन्द्रीय सदस्यहरुको भने अन्तिम नतिजा आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published.