नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन (११–१३ पुस) लाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । स्थायी समितिको निर्णयलाई आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्नेछ । विधानमा महाधिवेशनबारे निर्णय लिने अधिकार केन्द्रीय समितिलाई छ ।
नेकपा माओवादी केन्द्रको आइतबार सुरु हुने आठौं महाधिवेशनका लागि शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा तयारी गरिँदै। तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
प्रथम राष्ट्रिय सम्मेलनको तयारीस्वरूप शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनपूर्व गर्नुपर्ने सबै प्रक्रिया सकिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । सदस्यता नवीकरणदेखि वडा, पालिका र प्रदेशसम्मका अधिवेशन गरिएको, राजनीतिक प्रतिवेदन लेखन र विधान संशोधन प्रस्ताव तयार हुनु महाधिवेशनपूर्वकै काम भएको निष्कर्षसहित सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।