आज जेष्ठ नागरिक दिवस मनाइँदै छ । ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।
उहाँले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।