तरलताको बहाना ! बैंकहरुले अचाक्ली ब्याजदर बढाए ! व्यवसायीहरु आक्रोशित

आर्थिक

बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्याधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष नरेश कटुावालले बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् ।

कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको महासंघको ठहर छ ।

लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको भन्दै बढाइएको ब्याज तत्काल फिर्ता लिन महासंघले आग्रह समेत गरेको छ ।

‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ.’ विज्ञप्ती जारी गर्दै भनिएको छ ।

खासगरी साना तथा मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको कटुवालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अचाक्ली बढाइएको ब्याजदर फिर्ता लिएर सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न महासंघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.