सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ। सोही अवधिको समग्र खर्चमा भने उतार-चढाव देखिएको छ।
आर्थिक वर्ष २०७६-७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७-७८ मा ४१.७३ प्रतिशत रहेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजश्व संकलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो ।
अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हेर्दा उल्लेखनीय रुपमा पुँजीगत खर्च हुन सकेको देखिँदैन । आर्थिक वर्ष २०७६-७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४.७९ प्रतिशत थियो। आर्थिक वर्ष २०७७-७८ को सोही अवधिमा १४.४० थियो। चालु आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो ।
प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थमन्त्रालयको भनाइ छ। समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार-चढाव देखिएको छ।
आर्थिक वर्ष २०७६-७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो। वित्तीय खर्च २२.४४ थियो। आर्थिक वर्ष २०७७-७८ को सोही अवधिमा चालु खर्च ३६.०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो।
त्यस्तै चालु आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेका अर्थमन्त्रालयले जनाएको छ। वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ।