काम ठप्प भएको एक सातापछि नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण पुनः सुरु गरिएको छ ।
चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले गत चैत २८ मा सुरुङका कारण खानेपानीका मुहान सुकेको भन्दै निर्माण कम्पनी र परामर्शदाताको कार्यालयमा तोडफोड गरेपछि काम ठप्प बनेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आयोजना र वडा नम्बर २ का स्थानीयबीच भएको छलफलमा निर्माण सुरु गर्ने सहमति जुटेको हो ।
स्थानीयलाई आवश्यक पानी नगरपालिकाको रोहवरमा ट्यांकरमार्फत दिने सहमति भएपछि निर्माण अघि बढाउने सहमति भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । पहिला आयोजनाले १ नम्बर वडामा ३ र २ नम्बर वडामा ५ ट्यांकर पानी दिइरहेको थियो ।
दीर्घकालीन रूपमा समस्या समाधान गर्न बोरिङ बनाएर पानीको व्यवस्थापन गर्ने सहमति पनि भएको शाक्यको भनाइ छ । ‘सिँचाइका लागि सुरुङबाट निस्किएको पानीलाई लिफ्टिङ गरेर ल्याउनेबारे सम्भाव्यता अध्ययन गरिनेछ,’ उनले भने, ‘यसका लागि १ हजार फिट लिफ्ट गर्नुपर्नेछ, जुन चाहिएको खण्डमा मात्र गर्ने सहमति भएको छ ।’
गत चैत २८ र २९ मा स्थानीयले आयोजना कार्यालयले आफूहरूका माग सुनुवाइ नगरेको भन्दै टुटिपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेका थिए ।