आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

खास खबर

वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जानकारी दिएकाे हाे ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तहरू उपस्थित पत्रकार भेटघाटमा आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनामा जानकारी दिइयो ।

समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ । दलहरूको गठबन्धनका आधारमा उम्मेदवारी हुने हुँदा उम्मेदवारी नहुने दलको निर्वाचन चिह्न मतपत्रमा समावेश नगर्न केही दलबाट आग्रह आएको भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख आयुक्त थपलियाले मतपत्र छपाइ सुरु भइसकेकाले प्राविधिक र व्यवहारिकरूपमा त्यस्तो गर्न नसकिने स्पष्ट गर्दै कानुनमा व्यवस्था नभएकाले गठबन्धनलाई आयोगले नचिन्ने जनाए ।

कूल छ हजार ७४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मततदान केन्द्रमा पु-याइसक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिह्न हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने उनको भनाइ थियो । कुनै उम्मेदवारले जुन दलको निर्वाचन चिह्न प्रयोग गरेर सम्बन्धित दलले मनोनयन दर्ता गराउँछ निज उम्मेदवार सोही दलको उम्मेदवार हुने पनि उनले स्पष्ट गरे । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको कार्यान्वयनका क्रममा सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न आयोगले चाँडै थप निर्णय गर्ने जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published.