वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो ।
आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ । आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए । आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।